• १ असोज २०८३, बिहीबार
  • १०ः५५ बिहान

फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार १०:११

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।

National Life

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिपरको रु ३५० बुझाउने गरेका छन् । उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न शुरु गर्नेछौँ ।”

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएका छन् । कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत शुरु गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ ।”

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन् । काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिरहेको छ ।

प्रतिकृया