खल्ती डिजिटल वालेटलाई पेमेन्ट एपबाट लाइफस्टाइल एप बनाउन सिइयो खड्काको तयारी
प्रकाशित मिति
२०७९ बैशाख ६ गते, मंगलवार ०४:४१
सुजिता सापकोटा, ६ बैशाख २०७९, काठमाडौं : नेपाली मार्केटमा डिजिटल वालेटहरुको तिब्र रुपमा विकास भइरहँदा खल्ती डिजिटल वालेटले खल्तीलाई पेमेन्ट एपबाट लाइफस्टाइल एप बनाउने योजना बनाएको छ । मातृभूमीसँग कुरा गर्दै खल्तीका सिइयो विनय खड्काले नेपाली समाज पनि बिस्तारै डिजिटलाइजेसनतिर मोडिँदै गरेको अवस्थालाई मध्यनजर गरी यस डिजिटल वालेटलाई पेमेन्ट एपबाट लाइफस्टाइल एपमा अपग्रेड गर्ने तयारीमा लागेको बताएका हुन् ।
सिइयो खड्काका अनुसार लाइफस्टाइल एपमा खल्ती रुपान्तरण भएपछि खल्ती प्रयोगकर्ताहरुको दैनिक क्रियाकलाप अझै सहज हुने छ । निकट भविष्यमा मानिसले ब्रेकफास्टदेखि अन्य दैनिक उपभोग्य सामान खरिद गर्न खल्ती प्रयोग गर्न सक्ने उनले विश्वास ब्यक्त गरे ।

यस्तै, हालसम्म विशेषत: सहर केन्द्रिंत अर्थात् अर्बान सेन्ट्रिक भएको खल्तीले यसलाई गाउँ गाउँसम्म पनि सहजै पुर्याउने भावि योजना राखेको छ ।

सिइयो खड्काको अनुसार खल्ती सुरु भएको ५ वर्ष पूरा हुँदा हालसम्म खल्तीका प्रयोगकर्ताहरु लगभग २२ लाख पुगेका छन् भने ४० हजार बढि एजेन्टहरुले सेवा प्रदान गरिरहेका छन् ।
कम्पनीका सिइयो खड्काले सबैलाई एक पटक खल्ती चलाएर हेर्न आग्रह गरेका छन् । उनले खल्तीमा केहि अपुग वा कमि कमजोरी भएको भए सोसल मिडियामार्फत जानाकारी गराउन अनुरोध गर्दै तत्काल सुधार गर्ने प्रतिबद्धता समेत जनाए ।
खल्ती नै किन ?
नेपाली मार्केटमा डिजिटल वालेटहरु प्रशस्त रुपमा खुलेपनि खल्ती डिजिटल एप नै प्रयोग गर्न खल्तीका सिइयो खड्काले आह्वान गरेका छन् । खल्ती नै किन ? भन्ने प्रश्नमा जवाफ दिँदै उनले मुख्यत: २ कारण देखाएका छन् । कन्भेनियन्स अर्थात् सहजता र यसबाट प्राप्त हुने फाइदाका कारण बजारमा उपलब्ध अन्य डिजिटल वालेट भन्दा खल्ती नै उपयुक्त भएको उनको दाबी छ ।
खल्तीबाट पेमेन्ट गर्दा १.५ प्रतिशत क्यासब्याक हुने र नेपाल सरकारले इनभिजन गरेको १० प्रतिशत भ्याट समेत खल्तीले फिर्ता गर्ने गरेकाले पनि आम मानिसको रोजाइमा खल्ती पर्नुपर्ने खड्काले बताए । घरकाे भाडा, खानेपानीकाे बिल तिर्नेदेखि साधनकाे ब्लुबुक रिन्यु गर्न समेत खल्ती उपयुक्त हुने उनले जनाए । त्यस्तै, मासिक रुपमा २०- २५ हजार खर्च गर्दा खल्तीबाट पेमेन्ट गरेर हजार- १५ सय सजिलै बचाउन सकिने उनकाे भनाइ छ।
खल्तीका प्रयोगकर्तालाई फाइदा
मुख्यत समयको बचत गर्न खल्ती फाइदाजनक रहेको खड्काले बताएका छन् । “आजको दिनमा ब्लु बुक रिन्युअल गर्नपर्यो भने २ दिन बिदा लिनुपर्ने हुन्छ तर खल्तीबाट २ मिनेटमा नै पेमेन्ट गर्न सकिन्छ”, उनले भने । यस्तै, टेक्लोनोजिसँग अभ्यस्त रहन तथा खर्च र आम्दानी ट्रयाक गर्न पनि खल्तीले फाइदा पुर्याउने उनकाे दाबी छ ।
लकडाउनमा खल्ती
कारोना महामारीले नेपालमा लकडाउन भएसँगै खल्तीका कन्ज्युमर अर्थात उपभोकताहरुको ब्यवहारमा फरक आएको कम्पनीका सिइयो खड्काको अनुभब छ । उनका अनुसार लकडाउनको समयमा मोबिलिटी कन्स्ट्रेन्ट (घरबाहिर निस्किन नमिल्ने अवस्था) रहेको समयमा यस पेमेन्ट इन्डस्ट्रिलाई राम्रै नतिजा मिलेकाे थियो । त्यस्तै, यसपश्चात खल्तीलाई २०२१ को अगस्टतिर फ्लटर प्ल्याटफर्ममा परिवर्तन गरेको उनले बताए। खल्ती यो प्ल्याटफर्मबाट पेमेन्ट गर्ने पहिलो सर्भिस प्रोभाइडर भएको उनको दाबी छ ।
‘खल्ती ढुक्क भएर चलाउन सकिन्छ‘
सिइयाे खड्काका अनुसार खल्ती प्ल्याटफमको रुपमा सेक्युअर्ड ( सुरक्षित) छ, त्यसैले ढुक्क भएर चलाउन सकिन्छ यद्यपी प्रयोगकर्ताहरुले ओटिपी सेयर गर्ने हुँदा केही रिस्क हुन सक्छ । “सेक्युरिटी र कन्भेनियन्स सँगै जान्छन् तर डिमार्केसन पनि थिन लाइनको छ”, खड्काले भने, ” प्रयोगकर्ताको लापरबाहीका कारण केहि रिस्क हुन पनि सक्छ ।” ओटिपी सेयर गर्ने जस्ता कार्य नगरी सतर्क भएर खल्ती चलाउन समेत उनले आग्रह गरेका छन् । उनका अनुसार खल्तीले मार्केटिङ भन्दा बढि मेन्टेनेन्स, डिभलपमेन्ट र सेक्युरिटीमा इन्भेस्ट गरिरहेको छ ।
के हो खल्ती ?
खल्ती डिजिटल वालेट प्रयोगकर्ताहरुको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज र सरल गर्ने उद्देश्यसहित खोलिएको एक पेमेन्ट गेटवे हो । खल्ती ४ जना सह–संथापक वा लगानिकर्ताहरुबाट सन् २०१७ मा सुरु भएको संस्था हो । सप्लायर्स र कन्ज्युमर्सले एक अर्कालाई नभेटि नै पेमेन्टलाई हात हातसम्म पुर्याउनु नै खल्ती प्ल्याटफर्मको ब्युटी रहेको खड्का बताउँछन् ।
खल्तीको प्रयोग गरी ६० भन्दा धेरै बैंकमा पैसा पठाउन सकिन्छ। त्यस्तै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ्ग गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथै भुक्तानीमा पाइने क्यासब्याकको फाइदा समेत ग्राहकले खल्तीबाट लिन सक्छन्। खल्तीका प्रयोगकर्ताहरुको संख्या २२ लाखभन्दा बढी रहेको कम्पनीको दावी छ ।
हालसम्म खल्तीको ४० वटा कम्पनीसँग कनेक्सन भइसकेको छ र दैनिक रुपमा कनेक्सन बढिरहेको खड्काको दाबी छ । उनका अनुसार करिब ९० प्रतिशत कमर्सियल बैंकहरुसँग खल्ती जोडिइसकेको छ । बैंकहरुबाट खल्तीमा फन्ड ल्याउन १ सय २५ भन्दा बढि मेकानिजम रहेको समेत उनले जनाए ।
‘बैंक प्रतिस्पर्धी होइन, खल्तीमा फन्ड लोड गर्ने मिडियम हो ‘
खड्काले बैंकलाई प्रतिस्पर्धीको रुपमा नभई खल्ती जस्ता डिजिटल वालेटका लागि इनेब्लरको रुपमा लिएका छन् । “बैंकको मोबाइल बैकिंग आफैँमा खल्तीमा फन्ड लोड गर्ने एउटा मिडियम पनि हो , त्यसैले मैले बैंकलाई प्रतिस्पर्धीको रुपमा हेरेको छैन”, उनले भने, “करिब ९० प्रतिशत ट्रान्जेक्सन डिजिटल हुन बाँकी नै छ, त्यसैले हामीसँग प्रशस्त मार्केट साइज र अवसर छन् ।”




प्रतिकृया