चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा
प्रकाशित मिति
२०७८ चैत्र ११ गते, शुक्रबार ०५:४०
११ चैत्र २०७८, काठमाडौँ : भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँ आइपुगेका छन् । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौँ आइपुगेका हुन्। २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौँ उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।
शनिबार विहान नेपालका समकक्षी डा. नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् । शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।
वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ । नेपालस्थित चिनियाँ दूतावास स्रोतकाअनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनेछन् ।








प्रतिकृया