दुई हजार मेगावाट खपतका लागि प्रदेश २ मा पूर्वाधार बनाउँदै प्राधिकरण
प्रकाशित मिति
२०७८ मंसिर २० गते, सोमबार ०९:४०
मंसिर २०, २०७८ काठमाडौं : नेपाल विद्युत प्राधिकरणले प्रदेश–२ को बारा–पर्साका औद्योगिक क्षेत्रमा दुई हजार मेगावाट बिजुली खपत गर्ने गरी पूर्वाधार बनाउने भएको छ । उत्पादित विद्युत मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउन लागिएको हो ।
प्राधिकरणका अनुसार बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले व्यापक रुपमा विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको छ ।
सञ्चालनमा रहेका सबस्टेसन र उद्योगहरुको भ्रमण गरेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई अहिलेकै पूर्वाधारबाट २ सय मेगावाटसम्म थप विद्युत दिन सकिने बताउँदै थप दुई हजार मेगावाट खपत गर्ने गरी पूर्वाधार निर्माण गर्न लागेको जानकारी दिए ।
“यस वर्षको बर्खामा मुलुकभित्र उत्पादित विद्युत खपत गर्न नसकी झण्डै आठ सय मेगावाट खेर गयो । यसको मूल्य करिब ५ अर्ब रुपैयाँ हो । यस्तो अवस्था आउनु नेपालसँग विद्युत छ भन्ने अवसर पनि हो ।
प्राधिकरणले मुख्य रुपमा उद्योगहरुलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४ सय केभी प्रसारण लाइन निर्माणको अवधारणा अगाडि बढाएको छ ।
सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगहरुलाई थप विद्युत आपूर्ति दिन सकिने छ । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सब स्टेसन बनाउन लागिएको छ ।








प्रतिकृया