• १७ असोज २०८३, शनिबार
  • ९ः१८ बिहान

महामारीबीच जनगणना सम्पन्न गरेको भन्दै बिभिन्न मुलुकद्दारा नेपालको प्रशंसा

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०७:३९

मंसिर २०, २०७८, काठमाडौं : महामारीका कारण धेरै मुलुकले जनगणना गर्ने आँट अझै जुटाउन सकेका छैनन् । बरु महामारीबीच जनगणना सम्पन्न गरेकामा कतिपय मुलुकले नेपालको प्रशंसा गरेका छन् ।

National Life

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा। हेमराज रेग्मीले भने, “बन्दाबन्दीका कारण स्थगित गरिएको ठीक पाँच महिनापछि जनगणना कार्य सम्पन्न गरेका छौँ । बन्दाबन्दी नभएको भए त्यसै बेला सकिसक्थ्यौँ । महामारीको कहर कायम रहेकै बेला जनगणना सम्पन्न गरेकोमा विदेशीहरूले पनि प्रसंशा गरेका छन् ।”

विश्वका अधिकांश मुलुकले हरेक १० वर्षमा जनगणना गर्दै आएका छन् भने केही मुलुकले मात्रै प्रत्येक पाँच वर्षमा जनगणना गर्ने गरेका छन् । प्रत्येक १० वर्षमा गणना गर्ने मुलुकले दशकको सुरुवात वा अन्तिम वर्षमा गणना गर्ने गरेका छन् । त्यसअनुसार सन् २०२० र २०२१ मा जनगणना गर्नुपर्ने धेरैजसो मुलुकले २०२२ मा गर्नेगरी कार्यतालिका सारेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीए का अनुसार अल्बानिया, अन्टिगुवा र बरमुडा, बोत्सवाना, कङ्गो, बेलिज, जर्मनी, आयरल्यान्ड, जमैका, माल्दिभ्स, पनामा, दक्षिणी सुडान, अङ्गुइला लगायतका थुप्रै मुलुकले आगामी वर्ष सन् २०२२ मा जनगणना गर्ने भनेका छन् । तालिकाअनुसार तीमध्ये प्रायः मुलुकले गत वर्ष सन् २०२० मा जनगणना सम्पन्न गरिसक्नुपथ्र्यो । कोभिड–१९ र त्यसपछिका लहरका कारण गिनी–बिसाउ, थाइल्यान्ड, युक्रेनलगायतका मुलुकले सन् २०२३ मा जनगणना गर्नेगरी तालिका सारेका छन् । यीमध्येको थाइल्यान्डले गत वर्ष नै जनगणना सक्नुपथ्र्यो ।


सन् २०२१ मा जनगणना गर्ने भनी धेरैजसो मुलुकले कार्यतालिकालाई सारेका थिए । तर तिनले हालसम्म जनगणना गर्न सकेका छैनन् । महामारीबीच चीन र अमेरिकाले जनगणना कार्यलाई रोकेनन् । अमेरिकाले गत वर्ष इमेलबाट प्रश्नावली पठाएको र निर्धारित समयभित्र जवाफ नआएपछि गणकलाई घरसम्मै पठाएर जनगणना गरेको थियो । भारतले गत वर्ष घरधुरी सर्वेक्षण गरेर बीचैमा छोडेको थियो र उसले सन् २०२२ मा जनगणना गर्ने तयारी गरिरहेको छ ।


नेपालमा हालै सम्पन्न राष्ट्रिय जनगणनाको अन्तर्राष्ट्रिय पर्यवेक्षक समूहले पनि पर्यवेक्षण गरेको थियो । उपमहानिर्देशक हेमराज रेग्मीले यस्तो बेला गरिएको जनगणनाको सफल अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रचार गर्न आफूहरू तयार रहेको बताए । – गोरखापत्र दैनिक बाट

प्रतिकृया