• ११ असोज २०८३, आइतबार
  • ११ः१६ बिहान

उद्योगी-व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०१:३३

१० साउन, २०७८ काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले मुलुकको अर्थतन्त्र जोगाउन उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन माग गरेको हो ।

National Life

महासङ्घको टोलीले कोभिड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैंक ब्याज शतप्रतिशत मिनाहा गर्न र व्यवसाय तथा उद्योगलाई टिकाइ राख्न सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराउने वातावरण निर्माण गर्न मागसमेत गरेको छ । कोटेश्वर व्यापार सङ्घका पूर्वअध्यक्ष एवं महासङ्घका उपाध्यक्ष सरोज थापाले सरकार र निजी क्षेत्रको सहकार्यका लागि समन्वय समिति गठन गर्न आग्रह गरिएको बताए ।


महासङ्घले उद्योगी व्यवसायीलाई सहज तरिकाले पुनर्कर्जा उपलब्ध गराउनुपर्ने, आगामी दुई वर्षका लागि कोभिड–१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई ब्याजदरमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले गर्ने लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाइनुपर्ने बताएको छ । प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन पुगेको सो टोलीले सबै किसिमका आर्थिक क्रियाकलाप अनिवार्यरुपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्नसमेत आग्रह गरेको छ । : रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया