• १२ असोज २०८३, सोमबार
  • ४ः०९ बेलुका

एमालेमा दुई गुटको बैठक : सिंहदरबारमा माधव पक्ष, प्रधानमन्त्री कार्यालयमा ओली

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०२:५६

काठमाडौँ : नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालयतिर लागेका छन् ।

National Life

पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । विहीबार पनि बिहान ११ बजेपछि कार्यदलको बैठक बसेको थियो । तर, केही समय आन्तरिक गृहकार्य गर्ने भन्दै बैठक रोकिएको छ । आपसी छलफल गरेर साँझ ७ बजे पुनः बैठक बस्ने तयारी छ । आजै सहमति जुटाउने र ओली–माधवको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्ने प्रयासमा एमालेका दोस्रो तहमा नेताहरु सक्रिय बनेका छन् ।


यही क्रममा बुधबार राति मेरियट होटलमा केपी ओली र माधवकुमार नेपालवीच वार्ता भएको थियो । वार्तामा दुबै नेताहरु आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको थिएन । पार्टी एकताका आधारहरु खोज्नका लागि गठित एमाले कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् । त्यस्तै, माधव समूहबाट भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विहीबार बिहानको बैठक सकिएपछि कार्यदलका सदस्यमध्ये अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल आफ्नै कार्यकक्षमा रहेका छन् भने माधव समूहका पाँचैजना नेताहरु अर्थ मन्त्रालयमै आन्तरिक छलफलमा जुटेका छन् । सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल प्रधानमन्त्री कार्यालयतिर लागेका छन् ।​

प्रतिकृया