राप्ती नदीमा बाढी आए यसवर्ष १० हजार परिवार प्रभावित हुनसक्ने पूर्वानुमान
प्रकाशित मिति
२०७८ असार १ गते, मंगलवार ०४:११
काठमाडौँ : देशमा मनसुन सक्रिय भइसकेको छ। ठूलो पानी पर्दा बाँकेको राप्ती नदीमा बाढी आउने गर्छ। यो वर्ष राप्तीमा बाढी आएमा दश हजार घरपरिवार प्रभावित हुने जिल्ला विपद व्यवस्थापन समितिले पूर्वानुमान गरेको छ। बाँकेमा बर्खामा डुबान र हिउँदमा आगलागीका घटना हुन्छन्। विपदबाट २५ हजार घर परिवारका एक लाख ५० हजार मानिसहरु प्रभावित हुने पूर्वानुमान गरेको समितिले बाढीबाट दश हजार घरका ५० हजार प्रभावित हुने जनाएको छ।
भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुवानमा पर्ने गर्दछन्। समितिले जिल्लाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ समेत स्वीकृत गरेको छ। समितिको बैठकलले बाढी र डुबानबाट हुने जोखिम कम गर्न सचेतना अभिबृद्धिका लागि वर्षा र बाढी सम्बन्धी सूचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिइ प्रकाशन प्रसारण गर्न सञ्चार माध्यमहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ।
मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा सवै सुरक्षा निकाय, पालिका रेडक्रसको सहभागितामा असार ११ गते विहान ११ वजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ।
बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने, पालिकाभित्र भएको विपदमा प्रयोग हुने स्रोतसाधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह वढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्यहरु रोक्ने निर्णय गरेको छ।
अत्यावश्यक सामाग्री खानेकुरा, कपडा, औषधी, पानीको आवश्यक भण्डारण गर्ने, महिला, बालबालिका, जेष्ठ नागरिक अपाङ्गता भइ उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिने निर्णय गरेको छ। नजिकको नदी, नालामा पानीको वहावको सूचना लिइ नदीको सतह बढेको तल्लो तटीय क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए।
त्यसैगरी बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुनसक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटबन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिने गरेको छ।







प्रतिकृया