औषधि कालोबजारी गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति
२०७८ जेष्ठ १७ गते, सोमबार ०२:२६
काठमाडौँ : औषधि कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनालाई पक्राउ गरेको हो । उनी उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ
झापा, नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका-१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी
काठमाडौं, काठमाडौं महानगरपालिका-२९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली ऋण तथा सहकारी संस्थाबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको छ । झ्यालको भ्यान्टिलेटरबाट प्रवेश गरी अपरिचित ब्यक्तिहरुले दुवै सहकारी संस्थाबाट उक्त धनमाल चोरी गरेको बताइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु
झापा, शिवसताक्षी नगरपालिका-९ स्थित सडकमा मे.१२ प २३८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ शिवगंञ्ज बस्ने ४० वर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
जाजरकोट, नलगाड नगरपालिका-५ कालीमाटीस्थित सडकमा म.१ त १०५७ नम्बरको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खोलामा खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका रघुनाथ बस्ने २५ वर्षीय सोमराज वलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचथर, फिदिम नगरपालिका-३ सुङनिमा चोकमा प्रदेश १-०१-००१ च ७७०६ नम्बरको एम्बुलेन्स बाटोबाट करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा एम्बुलेन्समा सवार याङवरक गाउँपालिका-२ बस्ने ५० वर्षीया ममता राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
रौतहट, परोहा नगरपालिका-४ बस्ने २२ वर्षीया गुडीया देवी पासवानको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने टिलाई राय यादवको बारीमा बँदेललाई धपाउन लगाएको करेन्टमा परी गम्भीर घाइते भएकी उनको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यादवलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
ललितपुर, ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित आकासे पुल मुनि हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिकृया