ओलीलाई दिएको अल्टिमेटम सकियो, खनाल-नेपाल पक्षका सांसदहरुको बैठक बस्दै
प्रकाशित मिति
२०७८ बैशाख २७ गते, सोमबार ०९:२९
काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम दिएको थियो । ओलीले सोमबार बिहान ९ बजेसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त भनेको थियो । तर त्यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल पक्षले सांसदको बैठक बोलाएको छ ।
खनाल नेपाल पक्षका सांसदहरुले राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दै छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वास मत लिनुअघि उनीहरु एउटा निर्णयमा पुग्ने पक्षमा देखिन्छन् । विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ । सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र विश्वासको मत उपर कारबाही प्रक्रिया अघि बढ्नेछ ।








प्रतिकृया