काँग्रेस बैठक बूढानीलकण्ठमा सुरु: १४ औं महाधिवेशन तयारी, उपनिर्वाचन,केन्द्र र प्रदेश सत्ता समीकरणका विषयमा छलफल हुने
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०४:०२
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेपछि बैठक बसेको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ ।
यस्तै पार्टीका शीर्ष नेता सम्मिलित बैठक सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने छ । बूढानीलकण्ठको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टै छलफल भएको थियो । महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा पौडेल पक्षका नेताहरूबीच छलफल भएको थियो ।






प्रतिकृया