देवानगञ्ज घटनाको विरोधमा मोरङमा प्रदर्शन, सुनसरीका नौ स्थानीय तहमा कर्फ्यु कायम
प्रकाशित मिति
२०८३ श्रावण १४ गते, बिहीबार ०१:१३
१४ साउन २०८३ काठमाडौं – सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा मोरङ जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरिएको छ। घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका प्रदर्शनकारीले विराटनगरको हनुमान मन्दिर क्षेत्रबाट नाराबाजीसहित प्रदर्शन गरेका थिए। प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय पुगेपछि सुरक्षाकर्मीले ब्यारिकेड गरी सुरक्षा व्यवस्था कडा पारेका थिए।
देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने अन्य घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले गोली चलाएको थियो।

घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन्। शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रसहित नौ स्थानीय तहमा जारी गरेको कर्फ्यु बिहीबार पनि यथावत् राखिएको छ। प्रशासनले अर्को सूचना जारी नभएसम्म कर्फ्यु कायम रहने जनाएको छ।





प्रतिकृया