गगन थापाको प्रश्न–सरकार कहाँ छ? यस्तो बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्थ्यो
प्रकाशित मिति
२०८३ श्रावण १३ गते, बुधबार ०९:५८
१३ साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएपछि उनले सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे।
थापाले ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ?’ भन्दै सरकार बन्दुकको गोली वा सामाजिक सञ्जालको स्टाटसमै सीमित हुन नहुने बताए। सरकार अभिभावक मात्र नभई नेतृत्वकर्ता भएकाले सबै पक्षसँग सहकार्य र संवाद गर्न सक्नुपर्ने उनको भनाइ थियो। उनले यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिसँग, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्दै साझा पहलको वातावरण बनाउनुपर्ने धारणा राखे।

थापाले सुनसरी घटनापछि सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाउन सबै राजनीतिक दलले संयमता अपनाउनुपर्नेमा जोड दिए। प्रभावित जिल्लाका स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर संवाद अघि बढाउनुपर्ने र त्यसमा नेपाली कांग्रेसले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

उनले सुनसरी घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै मधेशमा हुने घटनामा अत्यधिक बल प्रयोग गर्ने राज्यको प्रवृत्तिबारे पनि गम्भीर समीक्षा हुनुपर्ने बताए। साथै सरकारलाई अप्ठ्यारो पार्ने नभई संकट समाधानका लागि सहकार्य गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे।




प्रतिकृया