• २६ भदौ २०८३, शुक्रबार
  • ६ः२६ बेलुका

चिकित्सकमाथि आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०९:२१

१२ साउन २०८३ काठमाडौं – नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

National Life

संघले साउन ९ गते नारायणी अस्पतालमा भएको घटनामा संलग्न व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्नुपर्ने माग गरेको छ। घटनामा टाउकोमा गम्भीर चोट लागेका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई संघले गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको जनाएको छ।

संघका अनुसार घटनाबारे जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको थियो। यस घटनामा पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न संघले माग गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यबाट दमन भएको आरोप लगाउँदै नेपाल चिकित्सक संघले विरोधस्वरूप मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जनाएको छ। साथै आन्दोलनमा चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गर्दै सेवा अवरुद्ध हुँदा बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ। विज्ञप्तिमा बिरामीले भोग्नुपर्ने असुविधाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने पनि उल्लेख गरिएको छ।

प्रतिकृया