डोलेश्वर महादेवमा श्रावणी मेला सुरु हुँदै, ५० लाख भक्तजन आउने अनुमान
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०२:१४
३१ असार २०८३ भक्तपुर- केदारनाथको शिरका रूपमा परिचित भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेलाको तयारी पूरा भएको छ।
मेला अवधिमा करिब ५० लाख स्वदेशी र ५० हजार भारतीय भक्तजन आउने अनुमान गरिएको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले जनाएको छ। मेलाबाट एक करोड रुपैयाँभन्दा बढी भेटी संकलन हुने अपेक्षा गरिएको छ।

श्रावणी मेलालाई व्यवस्थित बनाउन १४ वटा उपसमिति गठन गरिएको छ भने स्वास्थ्य परीक्षण, सुरक्षा, सरसफाइ, ट्राफिक व्यवस्थापन र दर्शन व्यवस्थापनको तयारी गरिएको छ। मन्दिर परिसरमा ५५ वटा सीसीटीभी समेत जडान गरिएको छ। मेला अवधिमा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको बढी भीड हुने अनुमान गरिएको छ। यस वर्षको आम्दानीबाट मन्दिर नजिकै वृद्धाश्रम निर्माण गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ।

साउन १ गते बिहान चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा निकालिनेछ भने बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले श्रावणी मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।




प्रतिकृया