• २६ असार २०८३, शुक्रबार
  • ११:४६ बेलुका

राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको मृत्यु, विवादमा संलग्न ३ नगर प्रहरी अनुसन्धानमा

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०२:२३

२६ असार २०८३ काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–६ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। घटनापछि विवादमा संलग्न रहेका एक महिला प्रहरीसहित तीन जना काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीले बोलाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार घटनास्थलमा खटिएका दुई महिला र एक पुरुष नगर प्रहरीलाई घटना विवरण (कागज) गराउन बोलाइएको हो। प्रारम्भिक जानकारीअनुसार गणेश नेपाली राइड सेयरिङ सेवामार्फत यात्रु बोकेर आएका बेला निषेधित क्षेत्रमा पार्किङ गरिएको भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरीले उनको बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा ‘ह्वील लक’ लगाएका थिए।

Kamana Sewa

त्यसपछि पार्किङको विषयलाई लिएर गणेश नेपाली र नगर प्रहरीबीच विवाद भएको थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गणेशले सडकभन्दा बाहिरको उचाइ भएको स्थानमा मोटरसाइकल राख्दा पनि किन ‘ह्वील लक’ लगाइयो र आफ्नो मोटरसाइकलमा मात्रै कारबाही गरेर अन्य सवारीलाई किन छुट दिइयो भन्ने प्रश्न उठाएका थिए।

Classic Tech Desktop

विवादपछि गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्किँदै आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिकृया