• २७ असार २०८३, शनिबार
  • १:५६ बिहान

बीपी प्रतिष्ठान बाहिरका ८ औषधि पसल सिलबन्दी

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार १०:१५

२६ असार २०८३ काठमाडौं – सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट बाहिर सञ्चालित आठ वटा औषधि पसल जिल्ला प्रशासन कार्यालय सुनसरी र औषधि व्यवस्था विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको छ। बुधबार बीपी प्रतिष्ठानभित्रबाट बिचौलियाको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि सात दिनको म्याद थपेपछि उनीहरूको रिहाइको माग गर्दै औषधि व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए।

पक्राउ परेकाहरूलाई विनासर्त रिहा गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा धर्ना दिइरहेका बेला संयुक्त टोलीले आकस्मिक अनुगमन गरी आठ औषधि पसलमा सिलबन्दी गरेको हो। सिलबन्दी गरिएका पसलमा सायांश मेडिकल हल, चाँदनी फार्मेसी, सबिन मेडिकल हल, वर्षा मेडिकल, स्काट मेडिकल हल, रितिशा फार्मेसी, सुजिता फार्मेसी र मिरियन मेडिकल हल रहेका छन्। ती पसलका सञ्चालकहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न औषधि व्यवस्था विभाग, विराटनगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ।

Kamana Sewa

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार संयुक्त अनुगमनका क्रममा प्रचलित कानुन, मापदण्ड तथा औषधि व्यवस्थासम्बन्धी नियम विपरीत सञ्चालन भएको पाइएपछि पसलहरू सिलबन्दी गरिएको हो। उनले केही पसलमा सञ्चालक अनुपस्थित रहेको, औषधिको खरिद–बिक्रीसम्बन्धी बिल तथा अभिलेख नराखिएको, प्रतिबन्धित औषधि फेला परेको तथा सञ्चालनका लागि आवश्यक कागजात पूरा नभएको पाइएको जानकारी दिए।

Classic Tech Desktop

प्रजिअ घिमिरेले बीपी प्रतिष्ठानलाई अनियमितता, बिचौलिया र अतिक्रमणमुक्त बनाउने अभियान निरन्तर जारी रहने बताए। उनका अनुसार प्रतिष्ठानसँग सम्बन्धित समस्याको कानुनी तथा प्रशासनिक प्रक्रियाअनुसार समाधान खोज्ने काम अघि बढाइएको छ।

साथै बिरामीलाई निजी मेडिकलमार्फत आर्थिक शोषण गर्ने बिचौलियामाथिको कारबाही अझ प्रभावकारी बनाइने र बीपी प्रतिष्ठानको अतिक्रमित जग्गाको पहिचान, सीमाङ्कन तथा संरक्षणको कामलाई पनि तीव्रता दिइएको प्रशासनले जनाएको छ।

प्रतिकृया