उखु किसानले पाउने ९२ प्रतिशत भुक्तानी सम्पन्न, सरकारले अनुदान पनि निकासा गर्यो
प्रकाशित मिति
२०८३ असार २१ गते, आईतवार १०:२८
२१ असार २०८३ काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने भुक्तानीमध्ये करिब ९२ प्रतिशत रकम चिनी उद्योगहरूले उपलब्ध गराइसकेको जनाएको छ। सरकार गठन भएको १०० दिनका अवसरमा सार्वजनिक गरिएको प्रगति विवरणअनुसार १३ वटा चिनी मिलमार्फत ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये अधिकांश रकम भुक्तानी भइसकेको हो।
सरकारका अनुसार विगतमा उखु किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहे पनि यस वर्ष आर्थिक वर्षभित्रै भुक्तानी सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। प्रतिक्विन्टल ७० रुपैयाँका दरले सरकारले उपलब्ध गराउने करिब एक अर्ब ५२ करोड रुपैयाँ अनुदान सम्बन्धित निकायमा निकासा भइसकेको र असार २५ भित्र किसानको खातामा जम्मा हुने क्रममा रहेको जनाएको छ। बैंक खाता वा प्यानसम्बन्धी प्राविधिक विवरण नमिलेका कारण रोकिएका किसानको बाँकी रकम पनि छिट्टै भुक्तानी हुने व्यवस्था मिलाइएको सरकारको दाबी छ।

सरकारले कृषि बजार सूचना प्रणाली सञ्चालन तथा चिस्यान केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको पनि जनाएको छ। साथै, कृषकलाई ‘स्वाइल हेल्थ कार्ड’ वितरण र माटो परीक्षणको कार्य अघि बढाइएको उल्लेख गरिएको छ। कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न तीन करोड रुपैयाँसम्मको कृषि कर्जामा रहेको जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको सरकारको भनाइ छ।

यस्तै, देशभरका किसानलाई विद्युतीय प्रणालीमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म सात लाख ५० हजार किसानको विवरण प्रमाणीकरण गरिएको छ। कुल २५ लाख ५८ हजार १९८ किसानको विवरण डिजिटल प्रणालीमा समावेश गर्ने लक्ष्य रहेको सरकारको विवरणमा उल्लेख छ।




प्रतिकृया