१०० दिनमा स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक
प्रकाशित मिति
२०८३ असार २० गते, शनिबार १२:२५
२० असार २०८३ काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्। शनिबार सार्वजनिक गरिएको प्रगति विवरणमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा महत्त्वपूर्ण काम भएको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउन ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याइएको छ। हालसम्म २१७ अस्पताल उक्त पोर्टलमा आबद्ध भएका छन् भने ३ हजार २५५ निःशुल्क शय्या छुट्याइएको छ। साथै, बिरामीको स्वास्थ्य अभिलेख एक अस्पतालबाट अर्को अस्पतालमा सुरक्षित रूपमा आदान–प्रदान गर्न सकिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत गरिएको छ।

अस्पताल सेवाको गुणस्तर सुधार गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ तथा ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य बिमा र निःशुल्क औषधि वितरणलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न ‘सुलभ फार्मेसी सेवा सम्बन्धी मापदण्ड’ लागू गरिएको छ।

औषधि आपूर्ति सुदृढ बनाउन नेपाल औषधि लिमिटेडसँग सोझै औषधि खरिद गर्ने सम्झौता गरिएको छ। त्यस्तै, १४ वटा सङ्घीय अस्पतालमा जलन उपचार युनिट स्थापना गरी सञ्चालनमा ल्याइएको तथा २० करोड रुपैयाँको जलन उपचार कोष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। आपतकालीन उद्धारलाई सहज बनाउन ११ वटा हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा सेवा उपलब्ध गराउने सम्झौता पनि भएको छ।
स्वास्थ्य बिमातर्फ २०८२ मङ्सिरसम्मको दाबीबापत अस्पतालहरूलाई १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिसकिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य बिमा प्रणालीमा देखिएका विकृति हटाउन तत्कालीन र मध्यकालीन रणनीति कार्यान्वयन भइरहेको पनि प्रगति विवरणमा उल्लेख छ।
मानसिक स्वास्थ्य सेवाको विस्तारका लागि ‘सरकारी अस्पतालबाट मनोपरामर्श सेवा सञ्चालन मापदण्ड, २०८३’ स्वीकृत गरिएको छ। साथै, ११६६ हटलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भइरहेको मन्त्रालयले जनाएको छ। दुर्गम तथा हिमाली क्षेत्रका पालिकाहरूमा हाई अल्टिच्युड क्लिनिक स्थापना गर्न बजेट विनियोजन गरिएको छ। लामो समयदेखि रोकिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी ९७७ नयाँ सङ्घीय दरबन्दी थपिएको तथा नर्सिङ र स्वास्थ्यकर्मीको न्यूनतम तलब र रात्रिकालीन भत्ता वृद्धि गरिएको पनि प्रगति विवरणमा उल्लेख छ।
खाद्य तथा जनस्वास्थ्य सुरक्षातर्फ मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत १५ हजार ६९० नमुनाको विषादी अवशेष परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। साथै, ७९औँ विश्व स्वास्थ्य सभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण कूटनीतिक सफलता हासिल गरेको पनि मन्त्रालयको दाबी छ।




प्रतिकृया