कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
प्रकाशित मिति
२०८३ असार २० गते, शनिबार ०६:३८
काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरा क्षेत्रमा कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गबाट करिब ४०० मिटर तल नदीमा खसेको थियो।
प्रहरीले घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवा सवार रहेको जनाएको छ।

दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन्। कानुनी प्रक्रिया र पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। कर्णाली नदीको तीव्र बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वय गरी बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिकृया