मेलम्चीको पानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द
प्रकाशित मिति
२०८३ असार १९ गते, शुक्रबार ०९:३०
१९ असार २०८३ काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो भएपछि काठमाडौं उपत्यकामा मेलम्चीको पानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानको पानीको गुणस्तर बिग्रिएपछि प्रशोधन प्रक्रिया प्रभावित भएको छ। त्यसैले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने कार्य अस्थायी रूपमा रोकिएको हो।
प्रवक्ता चन्दले वर्षाका कारण मुहानमा पानी अत्यधिक धमिलो भएकाले हाल प्रशोधन सम्भव नभएको बताए। पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकामा पानी आपूर्ति सुरु गरिने उनले जानकारी दिए।

केयुकेएलका अनुसार निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले काठमाडौं उपत्यकामा नियमित पानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्नेछ।





प्रतिकृया