बर्डफ्लु संक्रमित पन्छी बिक्री गरे कडा कारबाही हुने
प्रकाशित मिति
२०८३ असार १९ गते, शुक्रबार ०९:१०
१९ असार २०८३ काठमाडौं – पशुसेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण गरे कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न व्यवसायीलाई आग्रह गर्दै संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनी कारबाही गरिने स्पष्ट पारे।
विभागका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लु भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाइएको छ। संक्रमण नियन्त्रणका लागि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ। केही जिल्लामा संक्रमण नियन्त्रणतर्फ उन्मुख रहेको विभागले जनाएको छ।

मरेका कुखुरा जथाभावी फाल्ने वा संक्रमित पन्छी नष्ट गर्दा आवश्यक सावधानी नअपनाए मानिसमा समेत संक्रमण सर्न सक्ने जोखिम रहने भएकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हालसम्म बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको विभागले जनाएको छ।
प्रवक्ता उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण देखिनेबित्तिकै पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। प्रभावित क्षेत्रका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्याङ्कन तथा मुचुल्का उठाउने कार्यसँगै क्षतिपूर्तिका लागि विवरण सङ्कलन भइरहेको विभागले जनाएको छ।




प्रतिकृया