• १५ असोज २०८३, बिहीबार
  • २ः४४ दिउँसो

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याइँदै

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०९:३०

१७ असार २०८३ काठमाडौं – कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान खेतीको मुख्य सिजनमा किसानलाई आवश्यक मलको अभाव हुन नदिन विभिन्न माध्यमबाट आयात प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

National Life

मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ८० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको छ। यसमध्ये पहिलो चरणमा ५० हजार मेट्रिक टन युरिया साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ भने थप ३० हजार मेट्रिक टन युरिया असार अन्तिमदेखि साउन दोस्रो साताभित्र आइपुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिनेछ। यसमा १ लाख २० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डीएपी मल रहेको मन्त्रालयले जनाएको छ। यी मलमध्ये अधिकांश साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयका अनुसार ओमानबाट ३० हजार मेट्रिक टन युरिया लोड भइसकेको छ, जुन असार अन्तिमसम्म कोलकाता पुगेर साउन दोस्रो सातामा नेपाल भित्रिनेछ। भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी पनि असार अन्तिमसम्म कोलकाता पुग्ने र साउन दोस्रो सातामा नेपाल आइपुग्नेछ।

यस्तै, कतार र साउदी अरेबियाबाट ३०/३० हजार मेट्रिक टन युरिया मल ढुवानी प्रक्रियामा रहेको छ। कतारबाट पठाइएको मल असार अन्तिम साता कोलकाता पुग्नेछ भने साउदी अरेबियाबाट लोड गरिएको मल पनि सोही अवधिमा कोलकाता आइपुग्ने जनाइएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार ३० हजार मेट्रिक टन डीएपी मल बोकेको जहाज भिसाखापट्टनम बन्दरगाह पुगिसकेको छ र असार १९–२० गतेसम्म नेपाल भित्रिनेछ। साथै, थप ३० हजार मेट्रिक टन युरिया साउन पहिलो साता कोलकाता हुँदै साउन अन्तिमसम्म नेपाल ल्याइने तयारी छ।

मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धतामा चुनौती आए पनि किसानलाई आवश्यक मल समयमै उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जनाएको छ।

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। साथै, मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सबै विवरण अनलाइन प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको छ।

मन्त्रालयले रासायनिक मलको वितरणमा कालोबजारी वा अनियमितता देखिएमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ वा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्न किसानलाई आग्रह गरेको छ।

प्रतिकृया