• १० असार २०८३, बुधबार
  • ११:११ बिहान

रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार ०९:२१

१० असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) तथा मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएममार्फत मतदान गर्नेछन् भने विदेशमा रहेका प्रतिनिधिले मोबाइल एप प्रयोग गरेर मताधिकार प्रयोग गर्न सक्नेछन्। मतदानको समय भने आयोगले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

Kamana Sewa

यसअघि मंगलबार सभापति पदमा एक मात्र उम्मेदवारी परेपछि रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। आज पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया सम्पन्न गर्न करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ भने मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

Classic Tech Desktop

पहिलो चरणको परिणामपछि निर्वाचित केन्द्रीय सदस्यहरूबीच पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन हुनेछ। रास्वपाको नयाँ विधानअनुसार प्रथम महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिनेछ, जसमा १९ जना पदाधिकारी रहने व्यवस्था छ।

कार्यसमितिमा एक सभापति, एक वरिष्ठ नेता, कम्तीमा एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, कम्तीमा एक महिलासहित पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता रहनेछन्। साथै सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ।

विधानअनुसार ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जना सभापतिबाट मनोनित गरिनेछन्। दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ। बाँकी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता तथा तीन सहप्रवक्ता सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। महाधिवेशनले रास्वपाको आगामी नेतृत्व संरचना तय गर्ने भएकाले आजको मतदानलाई विशेष महत्वका साथ हेरिएको छ।

प्रतिकृया