• १५ असोज २०८३, बिहीबार
  • ९ः२८ बिहान

हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०३:०९

८ असार २०८३  काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, पुल्चोक ललितपुरमा एक निवेदन दर्ता गर्दै केही व्यक्तिहरूले प्रहरी हिरासत कक्षभित्र गम्भीर मानव अधिकार उल्लंघन भएको आरोप लगाएका छन्।

National Life

निवेदनअनुसार जेठ १९ गते काठमाडौंस्थित सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत कक्षभित्र गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङको नेतृत्वमा आएको एक समूहले अनधिकृत रूपमा प्रवेश गरी थुनुवामाथि मानसिक दबाब, गालीगलौज, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन गरेको दाबी गरिएको छ।

निवेदकहरूका अनुसार कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा भारतको ज्यादतीको विरोध गर्दै भारतीय दूतावास अगाडि लैनचौर क्षेत्रमा शान्तिपूर्ण रूपमा प्लेकार्ड प्रदर्शन गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि करिब आधा घण्टापछि गृह मन्त्री तथा सांसद सुदन गुरुङको नेतृत्वमा आएको टोलीले हिरासत कक्षभित्र प्रवेश गरी थुनुवामाथि धम्कीपूर्ण व्यवहार गरेको र मानसिक दबाब सिर्जना गरेको आरोप निवेदनमा उल्लेख गरिएको छ।

निवेदक अजय सोडारी, प्रकाश बम र सुजन पौडेलमाथि सो क्रममा गालीगलौज गरिएको, ज्यान मार्ने धम्की दिइएको तथा हिरासतजस्तो संवेदनशील स्थानमा शक्ति र पदको दुरुपयोग गरिएको उनीहरूको भनाइ छ।

उनीहरूले यस्तो कार्यले संविधानद्वारा सुनिश्चित सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धी हक र यातना विरुद्धको हकको ठाडो उल्लंघन भएको दाबी गर्दै आयोगसँग छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।

प्रतिकृया