प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
प्रकाशित मिति
२०८३ असार ८ गते, सोमबार १०:२९
८ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सञ्चालन हुने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावलीमा देखिएको त्रुटि सच्याउने काम जारी रहेकाले निर्धारित समयमा सुरु हुन सकेको छैन।
आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो नलाग्दा कार्यक्रम प्रभावित भएको हो।

निर्वाचन समितिले आइतबार करिब ४ हजार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तर नामावलीमा उल्लेख्य त्रुटि देखिएपछि प्रतिनिधिहरूले सच्याउन निवेदन दिइरहेका छन्। त्यसका लागि फाराम वितरण तथा संकलनको काम जारी रहेको जनाइएको छ।

नामावली सच्याउने प्रक्रिया चलिरहेकाले बन्दसत्रस्थल वरपर प्रतिनिधिहरूको उल्लेख्य भीड देखिएको छ। प्रतिनिधिहरूले आफ्नो नाम, विवरण तथा प्रतिनिधित्व सम्बन्धी त्रुटि सच्याउन निवेदन बुझाइरहेका छन्।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेदेखि निर्वाचनसम्बन्धी औपचारिक प्रक्रिया सुरु हुनेछ।
निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिनेछ। दिउँसो १ बजे उम्मेदवारी मनोनयन फाराम वितरण गरिनेछ भने २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
यस्तै, राति ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि दाबी–विरोध तथा जाँचबुझका लागि समय छुट्याइएको छ। राति ९ बजेदेखि उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारका लागि १५ मिनेटको समय दिइनेछ भने राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
असार ९ गते बिहान ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहनेछ। त्यसपछि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान हुनेछ। पहिलो चरणको मतपरिणाम मतदान सम्पन्न भएको करिब दुई घण्टापछि सार्वजनिक गरिनेछ।
रास्वपाले सभापति रवि लामिछानेलाई सर्वसम्मत रूपमा पुनः नेतृत्वमा निरन्तरता दिने तयारी गरेको चर्चा भए पनि निर्वाचन प्रक्रिया भने कार्यतालिकाअनुसार अगाडि बढाइने भएको छ। पहिलो चरणपछि अन्य पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदानसमेत हुने निर्वाचन आयोगले जनाएको छ।




प्रतिकृया