• ८ असार २०८३, सोमबार
  • १०:१८ बिहान

रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०९:००

८ असार २०८३ चितवन- भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्दसत्र सञ्चालन हुँदैछ। आइतबारदेखि सुरु भएको महाधिवेशन असार ९ गतेसम्म चल्नेछ।

पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजको बन्दसत्रमा विधान संशोधन, विभिन्न प्रतिवेदनमाथि छलफल तथा अनुमोदन र निर्वाचन प्रक्रियाको तयारीका महत्वपूर्ण कार्यक्रम समावेश छन्। बिहान ८ः३० बजे सभापति रवि लामिछानेले दोस्रो सत्रको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। त्यसलगत्तै अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन पेश गर्ने कार्यतालिका छ।

Kamana Sewa

यस्तै, बिहान १० बजेदेखि पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दै अनुमोदनका लागि बन्दसत्रमा पेश गर्नेछन्।

Classic Tech Desktop

विधान संशोधन प्रस्ताव अनुमोदनपछि उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। राजनीतिक प्रतिवेदनमाथिको प्रक्रिया सम्पन्न भएपछि सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। साथै महाधिवेशन आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।

निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तरण भएसँगै नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढ्नेछ। आयोगले निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका तथा आवश्यक सूचना सार्वजनिक गर्ने र त्यसअनुसार महाधिवेशनका बाँकी कार्यक्रम सञ्चालन हुने रास्वपाले जनाएको छ।

प्रतिकृया