मन नपरे संसद्ले सरकार नै फाल्न सक्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
प्रकाशित मिति
२०८३ जेष्ठ २९ गते, शुक्रबार ०२:५७
२९ जेठ २०८३ काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई सरकार गठन र हटाउने सर्वोच्च अधिकार प्राप्त संस्था भएको बताएका छन्।प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले मन नपरेको अवस्थामा संसद्ले सरकार नै हटाउन सक्ने अधिकार राख्ने बताएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुसीबु ओलीले बजेट कार्यान्वयनका क्रममा कार्यपालिकालाई अत्यधिक अधिकार प्रत्यायोजन गरिएको विषय उठाएपछि अर्थमन्त्री वाग्लेले संसदीय प्रणालीको अभ्यासबारे स्पष्ट पारेका थिए।

उनले वेस्टमिन्स्टर प्रणालीमा व्यवस्थापिकाले कार्यपालिकालाई समग्र अधिकार प्रदान गर्ने व्यवस्था रहेको उल्लेख गर्दै संसद्को सर्वोच्च भूमिकामाथि जोड दिए।

“कार्यपालिका अथवा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो। त्यसैले यो सार्वभौम छ। मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ,” अर्थमन्त्री वाग्लेले भने।
उनले संसद्ले सरकार गठन मात्र नभई आवश्यक परे सरकार परिवर्तन गर्न सक्ने संवैधानिक अधिकार पनि राख्ने भएकाले व्यवस्थापिका नै लोकतान्त्रिक शासन प्रणालीको केन्द्रबिन्दु रहेको धारणा व्यक्त गरे।




प्रतिकृया