सुधन गुरुङसँग दुई दिन बयान, छानबिन प्रतिवेदन अन्तिम चरणमा
प्रकाशित मिति
२०८३ जेष्ठ १३ गते, बुधबार ०६:३२
१३ जेठ २०८३ काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले दुई दिन लगाएर बयान लिएको छ । समिति स्रोतका अनुसार मंगलबार र बुधबार गुरुङसँग बयान लिइएको हो । आवश्यक परे पुनः बोलाउन सकिने अवस्था रहेको समितिले जनाएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन् ।

समितिले बयानअघि गुरुङमाथि लागेका आरोप, सम्पत्ति विवरण तथा सम्बन्धित पक्षसँगको विवरण अध्ययन गरेको जनाएको छ । समितिका अनुसार छानबिन अन्तिम चरणमा पुगेको छ र केही दिनमै प्रतिवेदन सरकारलाई बुझाइने तयारी भइरहेको छ ।

व्यवसायी दीपक भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेपछि उनीसँगको साझेदारी, सम्पत्ति विवरणमा सेयर लुकाएको लगायतका आरोप सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए । त्यसपछि उनले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।




प्रतिकृया