व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आग्रह– सरकारले धरपकडको सूची बनाएको छैन
प्रकाशित मिति
२०८३ बैशाख २६ गते, शनिबार १०:५२
२६ बैशाख २०८३ काठमाडौं- डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा लिएर अघि बढिरहेको स्पष्ट पारे।
उनले ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन, हल्लाको पछि नलाग्नुस्, तपाईंहरू हाम्रो साझेदार हो’ भन्दै व्यवसायीलाई आश्वस्त पारे।

कार्यक्रममा उनले सरकारले १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए।

अर्थमन्त्री वाग्लेले सरकारका पाँच प्राथमिकताबारे पनि स्पष्ट पारे। उनका अनुसार सुशासन पहिलो, अर्थतन्त्रको पुनरुत्थान दोस्रो, आन्तरिक तथा बाह्य कनेक्टिभिटी तेस्रो, सामाजिक लगानी चौथो तथा पर्यटन, संस्कृति र इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तार पाँचौँ प्राथमिकतामा रहेका छन्। मुलुक अहिले अर्थतन्त्रको दिशा परिवर्तन गर्ने चरणमा पुगेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे।
भारतको आर्थिक प्रगतिको उदाहरण दिँदै उनले सन् २०१४/१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक अहिलेको नेपालसँग मिल्दोजुल्दो रहेको तर पछिल्लो एक दशकमा भारतले ठूलो फड्को मारेको बताए। ‘हामी पनि अब त्यही बाटोमा अघि बढ्ने बेला भएको छ,’ अर्थमन्त्री वाग्लेले भने।




प्रतिकृया