• २ असोज २०८३, शुक्रबार
  • ३ः०३ राती

महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण, २८ रोपनी जग्गा र सीमित नगद मौज्दात

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ११:४१

काठमाडौं । महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफूसँग करिब तीन तोला सुन र पोखरा महानगरपालिका–७ माझठानामा चार ठाउँमा गरी करिब २८ रोपनी जग्गा रहेको उल्लेख गरेका छन्।

National Life

उक्त जग्गा २०५२ सालमा पदम पुनसँग मिलेर करिब ४ लाख रुपैयाँमा खरिद गरिएको र यसको स्रोत अमेरिकाबाट फर्किँदा बचेको रकम रहेको उनले बताएका छन्। हाल सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको भए पनि अझै बिक्री नभएको जानकारी दिएका छन्।

पुनका अनुसार करिब तीन तोला सुन २०६० सालतिर किनेको हो, जसको स्रोत श्रीमतीलाई इष्टमित्रबाट प्राप्त उपहार रहेको जनाइएको छ। नगद मौज्दाततर्फ नेपाल बैंक लिमिटेडमा करिब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा करिब २५ लाख रुपैयाँ रहेको उनले सार्वजनिक गरेका छन्। नेपाल बैंकमा रहेको रकम व्यक्तिगत खर्चका लागि साथीहरूबाट प्राप्त भएको र राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम प्रतिनिधिसभा निर्वाचनका क्रममा सहयोगीहरूले दिएको चन्दाबाट बाँकी रहेको उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त २५ लाख रुपैयाँ म्याग्दीको बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा खर्च गर्ने उनको योजना रहेको छ। यसैगरी, आफ्नो आत्मकथा पुस्तकबाट करिब २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको र सो सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि जम्मा गरिएको पुनले जानकारी दिएका छन्।

सांसद पुनले यसबाहेक आफूले ऋण, सवारी साधन, कृषि तथा पशुधन लगायत अन्य कुनै सम्पत्ति नरहेको पनि स्पष्ट पारेका छन्।

प्रतिकृया