काठमाडौंमा सुकुम्बासी व्यवस्थापन सुरु, ५ स्थानमा होल्डिङ सेन्टर तयारी
प्रकाशित मिति
२०८३ बैशाख १२ गते, शनिबार ०९:४१
१२ बैशाख २०८३ काठमाडौं – काठमाडौं महानगर क्षेत्रमा नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकारले होल्डिङ सेन्टर तयार पारेको छ। पहिलो चरणमा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाउने अभियान सुरु गरिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सुकुम्बासीहरूलाई अस्थायी रूपमा राख्न ५ वटा स्थान छनोट गरिएको छ। नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट तयार पारिएको छ भने कीर्तिपुरस्थित सत्सङ भवनमा पनि व्यवस्थापन गरिनेछ।

यसैगरी भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागका सरकारी भवन तथा खाली जग्गामा समेत सुकुम्बासीहरूलाई राख्ने योजना छ।

सरकारले नक्कली सुकुम्बासीलाई भने कुनै सुविधा नदिने र त्यसको विवरण सार्वजनिक गर्ने जनाएको छ। साथै, प्रत्येक व्यक्तिको विवरण डिजिटल प्रणालीमा राखेर अभिलेख व्यवस्थित गरिने तयारी गरिएको छ।
शनिबार बिहानदेखि स्थानान्तरण गरिएका परिवारका लागि खानाको व्यवस्था गरिएको छ भने पुनर्स्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयजस्ता आधारभूत सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको जनाइएको छ।
यसअघि निर्माण भएका संरचनालाई नै उपयोग गर्दै सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको योजना रहेको छ।




प्रतिकृया