वाम शक्तिबीच एकता र मोर्चाबन्दी आवश्यक : प्रचण्ड
प्रकाशित मिति
२०८३ बैशाख ९ गते, बुधबार १०:१०
९ बैशाख २०८३ काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता र शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच मोर्चाबन्दी आवश्यक रहेको बताएका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक बन्दै गएको उल्लेख गरेका छन्।
यस्तो अवस्थामा शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै प्रगतिशील शक्तिहरूबीच एकजुटता अपरिहार्य भएको उनले बताएका छन्। उनले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको औंल्याउँदै समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वाम शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको उल्लेख गरेका छन्।

प्रचण्डले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासका लागि पनि मोर्चाबन्दी आवश्यक रहेको बताएका छन्। साथै शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेको भन्दै साँचो अर्थमा जनताको व्यवस्था पूर्णरूपमा स्थापित हुन अझ बाँकी रहेको धारणा व्यक्त गरेका छन्।

उनले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद फासिवादी दिशातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै लेनिनका विचार र आदर्श अझ सान्दर्भिक बनेको बताएका छन्।
इतिहासले कम्युनिष्ट आन्दोलनले नै उत्पीडित वर्ग र समुदायको अधिकार तथा राष्ट्रिय स्वाधीनताको रक्षा गरेको प्रमाणित गरेको उल्लेख गर्दै प्रचण्डले अब पनि गरिब, किसान र श्रमजीवी वर्गको पक्षमा आन्दोलन अगाडि बढाउनुपर्ने बताएका छन्।
सन्देशको अन्त्यमा उनले विगतका संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठनका लागि सबैमा आह्वान गरेका छन्।




प्रतिकृया