फेवाताल जग्गा प्रकरण: गृहमन्त्री गुरुङले आफू ठगिएको दाबी, कानुनी उपचारमा जाने
प्रकाशित मिति
२०८२ चैत्र २३ गते, सोमबार ११:१२
२३ चैत,२०८२ पोखरा — सुधन गुरुङ ले फेवाताल किनारको जग्गा प्रकरणमा आफू नै ठगिएको दाबी गरेका छन्। जग्गाधनीले मापदण्डभित्र पर्ने तथ्य लुकाएर लिजमा दिएको भन्दै उनले कानुनी उपचारमा जाने बताएका हुन्।
गृहमन्त्रीको सचिवालयका अनुसार करिब ८–१० वर्षअघि साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ मार्फत उक्त योजना अघि बढाइएको थियो। सोही योजनाका लागि लिइएको जग्गा फेवातालको ६५ मिटर मापदण्डभित्र पर्ने देखिएको हो।
जग्गा लिँदा उक्त क्षेत्र मापदण्डबाहिर रहेको भन्दै विश्वास दिलाइएको तर पछि नगरपालिका मार्फत बुझ्दा मापदण्डभित्रै परेको खुलेको गुरुङको भनाइ छ। “लालपूर्जामा समेत सुरक्षित देखाइएको थियो, तर वास्तविकता फरक रहेछ,” उनले बताएका छन्। आफू ठगिएको थाहा पाएपछि नैतिकताका आधारमा निर्माण र लगानी तत्काल रोकिएको उनले स्पष्ट पारे।
एक युवा उद्यमीका रूपमा आफ्नो सपना र लगानीमाथि खेलबाड भएको उल्लेख गर्दै गुरुङले अब कानुनी प्रक्रियामा जाने तयारी गरेको बताए। यसैबीच हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीमाथि प्रश्न उठाएका छन्। उनले फेवाताल क्षेत्रमा मन्त्रीको नाममा २० रोपनी जग्गा रहेको खबरप्रति असन्तुष्टि जनाउँदै यसलाई ‘नैतिकताको सवाल’ बताएका छन्।
साम्पाङले सत्यतथ्य सार्वजनिक गर्न तत्काल पत्रकार सम्मेलन गर्न आग्रह गर्दै स्पष्ट जवाफ नदिए जनविश्वास कमजोर हुने चेतावनी दिएका छन्। उता जग्गाधनीले भने आफूले पाँच वर्षदेखि भाडा नपाएको दाबी गरेका छन्।








प्रतिकृया