• १ असोज २०८३, बिहीबार
  • ५ः४८ बेलुका

बादलको अभिव्यक्तिमा एमाले सख्त, आजै सचिवालयबाट सचेत गराउने तयारी

प्रकाशित मिति

२०८२ चैत्र २० गते, शुक्रबार १०:४५

२० चैत,२०८२ काठमाडौं – नेकपा एमालेले कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)लाई पार्टीको मूल्य–मान्यता विपरीत अभिव्यक्ति दिएको भन्दै सचेत गराउने तयारी गरेको छ।

National Life

आज दिउँसो १ बजे बस्ने एमाले सचिवालय बैठकबाट बादललाई औपचारिक रूपमा सचेत गराइने एक नेताले जानकारी दिएका छन्। ती नेताका अनुसार बादलले संसदमा दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा विपरीत रहेको निष्कर्ष निकालिएको छ।

‘बादलजीले हिजो संसदमा पार्टीको मूल्य–मान्यता विपरीत बोल्नुभयो, उहाँलाई संसदीय प्रक्रियाबारे सिकाइनेछ र आइन्दा त्यसो नगर्न सचेत गराइनेछ,’ ती नेताले भने। गत चैत १९ गतेको संसद बैठकमा बादलले भदौ २३–२४ को जेनजी आन्दोलन तथा फागुन २१ को निर्वाचन परिणामलाई षड्यन्त्रको उपज भएको दाबी गरेका थिए। उनले नेपाली सेना, कर्मचारी तथा विदेशी निकायहरूलाई समेत आरोप लगाउँदै अभिव्यक्ति दिएका थिए, जुन एमालेको आधिकारिक अडानसँग मेल नखाने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनको उक्त अभिव्यक्तिले पार्टीभित्र तरंग सिर्जना गरेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि आजको सचिवालय बैठकमा यस विषयमा गम्भीर छलफल हुने र ‘उचित निर्णय’ लिइने बताएका छन्।

हाल बादल एमालेबाट समानुपातिक सांसद हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनी कार्यवाहक अध्यक्ष तथा संसदीय दलको नेताको जिम्मेवारी सम्हालिरहेका छन्।

यसैबीच, एमालेका नेता सुरेन्द्र पाण्डेले पनि बादलको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। नाम नलिई सामाजिक सञ्जालमार्फत उनले पछिल्लो राजनीतिक अवस्था सिर्जना हुनुमा एमाले नेतृत्वकै कमजोरी रहेको संकेत गरेका छन्। उनले लेखेका छन्, ‘हामी पनि दोषी छौं– यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?’

बादलको अभिव्यक्तिलाई लिएर एमालेभित्र बहस चर्किएको छ।

प्रतिकृया