• ४ साउन २०८३, सोमबार
  • १:४७ बिहान

काठमाडौंमा रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन हुने

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार ०१:०७

काठमाडौं। काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने भएको छ। महानगरपालिकाका अनुसार राति सार्वजनिक सवारीको अभावका कारण यात्रुहरूले भोग्दै आएको समस्या समाधान गर्न यो सेवा सुरु गर्न लागिएको हो।

प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बस दुई फरक रुटमा सञ्चालन गरिनेछन्। पहिलो रुट ललितपुरको लगनखेलदेखि बुढानीलकण्ठसम्म हुनेछ। यो रुट पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै सञ्चालन हुनेछ। करिब १६ किलोमिटर एकतर्फी दूरी रहेको यो रुट उत्तर–दक्षिण दिशामा रहनेछ।

Kamana Sewa

दोस्रो रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुनेछ। यो रुट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै विमानस्थल पुग्नेछ। करिब २० किलोमिटर एकतर्फी दूरी भएको यो रुट पूर्व–पश्चिम दिशामा सञ्चालन हुनेछ।

Classic Tech Desktop

सेवा सुरु गर्दा बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् भने प्रत्येक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था मिलाइएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रातको समयमा सार्वजनिक यातायात नहुँदा यात्रुहरू महँगो सवारी प्रयोग गर्न बाध्य भएको बताउँदै यो सेवा सुरक्षित र सुलभ विकल्प हुने बताइन्।

महानगरले यात्रु सुरक्षाका लागि बसमा सीसीटिभी क्यामेरा जडान गर्ने र नगर प्रहरी परिचालन गर्ने जनाएको छ। साथै, भविष्यमा यो सेवालाई अझ आधुनिक र दिगो सार्वजनिक यातायात प्रणालीका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ।

प्रतिकृया