घुस, झन्झट र अनावश्यक थुनाइ अन्त्य हुन्छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
प्रकाशित मिति
२०८२ चैत्र १६ गते, सोमबार ०३:०८
१६ चैत,२०८२ काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी क्षेत्रलाई लक्षित गर्दै सरकार व्यवसायमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा उनले व्यवसाय सञ्चालनका क्रममा हुने घुसखोरी, अनावश्यक झन्झट र साना विषयमा थुनिने अवस्थाको अन्त्य गरिने बताएका हुन्।
“म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न,” भन्दै उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइने र अर्थतन्त्रलाई नयाँ दिशातर्फ अघि बढाउने आफ्नो प्राथमिकता रहेको बताए।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको ‘सहयात्री’ का रूपमा व्याख्या गर्दै लगानी विस्तार र रोजगारी सिर्जनामा सक्रिय भूमिका खेल्न आग्रह गरे। नीतिगत सुधारतर्फ संकेत गर्दै उनले आर्थिक कसुरमा दण्डात्मक दृष्टिकोण परिवर्तन गरिने र सामान्य अनियमिततामा जेल सजायभन्दा आर्थिक जरिवानालाई प्राथमिकता दिने नीति ल्याइने बताए।

तर, राज्यले सहजीकरण गर्दा निजी क्षेत्र पनि जिम्मेवार र इमानदार हुनुपर्नेमा जोड दिँदै नियोजित आर्थिक बेइमानीप्रति सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत उनले दिएका छन्।




प्रतिकृया