दुर्गाराज श्रेष्ठले बागमती प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा उम्मेदवारी घोषणा
प्रकाशित मिति
२०८२ चैत्र ९ गते, सोमबार ०१:१८
९ चैत,२०८२ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्ष पदका लागि दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
श्रेष्ठले आफ्नो एजेन्डा अनुसार बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला–नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको क्षमता विकासमा केन्द्रित हुने, साना तथा मझौला उद्यम व्यवसायलाई लक्षित गरी प्रदेशको आर्थिक र औद्योगिक नीति निर्माणमा योगदान पुर्याउने योजना रहेको बताए।

उनी बागमती प्रदेशका उद्योग वाणिज्य संघ, सबै वस्तुगत संघ र एसोसियट सदस्यहरूसँग स्थानीय तह र प्रदेश सरकारसँग जोडेर कर प्रणाली, लेखा प्रणाली र नापतौल जस्ता विषयमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। यसका साथै, बजार अनुगमनमा व्यवसायीले भोग्ने समस्या अन्त्य गर्न स्पष्ट मापदण्ड निर्माण गर्ने र स्थानीय प्रशासनसँग सहकार्य गर्ने नीति बनाउने योजना रहेको श्रेष्ठले बताए।

दुर्गाराज श्रेष्ठ २०६२ सालबाट व्यवसायिक क्षेत्रमा सक्रिय छन्। नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्ष बनेका उनी २०७४–२०७६ सम्म सफल कार्यकालसम्पन्न गरेका थिए। उनी उद्योग वाणिज्य संघ काठमाडौँका संस्थापक सदस्य तथा हाल महासचिव हुन्। अन्तर्राष्ट्रिय रुपमा उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को कार्यकारी सदस्य पनि रहेका छन्।
पोखरा विश्वविद्यालयबाट एमबीए उत्तीर्ण श्रेष्ठले प्रदेश सरकारसँग उद्योगी–व्यवसायीका समस्यामा ‘स्ट्रङ लभिङ’ गर्ने र समस्या समाधानमा दिनरात केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेका छन्।




प्रतिकृया