यूएईस्थित नेपाली दूतावासको चेतावनी: सामाजिक सञ्जालमा अफवाह नफैलाउन अपिल
प्रकाशित मिति
२०८२ चैत्र १ गते, आईतवार ०२:०२
१ चैत,२०८२ काठमाडौं- युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ।
दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ अनुसार यूएईमा विकसित सुरक्षा परिस्थिति ध्यानमा राख्दै संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरिएको छ। यस्तो गतिविधिले सुरक्षा परिस्थितिबारे भ्रम फैलाउन सक्ने भएकाले जिम्मेवार बन्न दूतावासले अपिल गरेको छ।
यूएईको कानुनअनुसार गैरकानुनी वा अनुमतिविनाका गतिविधिमा संलग्न पाए १–३ वर्षसम्म कैद र १ लाख–२ लाख दिराम जरिवाना हुन सक्ने चेतावनी पनि दिइएको छ। मिसाइल वा ड्रोन अवशेष नजिक नजान र तस्बिर खिचेर सार्वजनिक नगर्न पनि दूतावासले आग्रह गरेको छ।
दूतावासले आधिकारिक जानकारीका लागि यूएईको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, दुबई र अबुधाबी मिडिया कार्यालय, इमिरेट्स न्युज एजेन्सी र दूतावासको आधिकारिक फेसबुक पेज मात्रै हेर्न सुझाएको छ। नेपाली दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरेको छ।







प्रतिकृया