राहदानी सेवामा नयाँ प्रणाली, असोजसम्म चाहिने सेवाग्राहीलाई चाँडै लिन आग्रह
प्रकाशित मिति
२०८२ फाल्गुन २९ गते, शुक्रबार ०९:४३
२९ फाल्गुन,२०८२ काठमाडौं- राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विभागका अनुसार नयाँ आपूर्तिकर्तासँग सम्झौता भई राहदानी प्रणाली, राहदानी पुस्तिका तथा अन्य प्राविधिक तयारीहरू पूरा भइसकेका छन्।
विभागले आगामी एक–दुई महिनाभित्र हाल प्रयोगमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनको अन्तरिम चरणमा प्रणाली स्थिर हुन केही समय लाग्न सक्ने भएकाले राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाइएको छ।
यस क्रममा जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी विभागबाट प्रदान गरिने सेवा करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने बताइएको छ।
नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि प्रणाली स्थिर हुन एकदेखि तीन महिना लाग्न सक्ने विभागको भनाइ छ। सो अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार हुन अहिलेभन्दा बढी समय लाग्न सक्ने विभागले स्पष्ट पारेको छ।
विभागले आगामी छ महिनाभित्र, अर्थात् २०८३ असोजसम्म राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट सेवा लिन आग्रह गरेको छ।
नयाँ प्रणाली सुरु हुने मिति र सो अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने पनि विभागले जनाएको छ।








प्रतिकृया