समानुपातिकतर्फको अन्तिम नतिजा केहीबेरमै सार्वजनिक गर्ने आयोगको तयारी
प्रकाशित मिति
२०८२ फाल्गुन २७ गते, बुधबार १२:०९
२७ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले अहिले इलाम–१ र गोरखा–१ को मतगणना भइरहेको र त्यो सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक गरिने जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको जानकारी दिँदै केही समयमै अन्तिम नतिजा सार्वजनिक हुने बताए।
आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भइसकेको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २३५ मतसहित अग्रता कायम गरेको छ भने नेपाली कांग्रेस १७ लाख ४९ हजार ५८३ मतसहित दोस्रो स्थानमा रहेको छ।
त्यस्तै नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत पाएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२, जनता समाजवादी पार्टीले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ५०१ र जनमत पार्टीले ७८ हजार ९७३ मत प्राप्त गरेका छन्।
यसअघि प्रत्यक्षतर्फको मतगणना भने सम्पन्न भइसकेको आयोगले जनाएको छ।








प्रतिकृया