नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिए
प्रकाशित मिति
२०८२ फाल्गुन २४ गते, आईतवार १०:१९
२४ फाल्गुन,२०८२ मकवानपुर- प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेकपा एमाले ले अनपेक्षित पराजय भोगेपछि पार्टीभित्र जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ। यसै क्रममा मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल ले आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन्।
आइतबार बिहान फेसबुकमा लामो स्टाटसमार्फत पोखरेलले जनमतको कदर गर्दै पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिएर आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिएका छन्।
पोखरेलले एमालेको ४५ वर्षे यात्रामा भोगिएको परिणामबारे गम्भीर समीक्षा आवश्यक रहेको औँल्याउँदै नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गरेका छन्। उनले लेखेका छन्, “यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव छैन।”
उनी सबै तहका नेताहरूलाई आत्मसमीक्षा गर्न र जिम्मेवारी लिन आग्रह गर्दै पार्टी पुनर्गठनको आवश्यकतालाई जोड दिएका छन्। पदबाट राजीनामा दिए पनि पोखरेलले युवा पुस्तालाई पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् र नयाँ पुस्ताले पार्टीलाई सही दिशाबाट अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।
अन्तमा उनले आफ्नो योगदान र समर्थनप्रति आभार व्यक्त गर्दै, प्रतिनिधिसभामा विजयी भएका सबै सांसदहरूलाई हार्दिक बधाई र शुभकामना दिएका छन्।








प्रतिकृया