होलीमा मञ्च र सांगीतिक कार्यक्रम आयोजना गर्न प्रशासनले लगायो रोक
प्रकाशित मिति
२०८२ फाल्गुन १५ गते, शुक्रबार १२:३०
१५ फाल्गुन,२०८२ काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।
प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, “खुला सडक र सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला महोत्सव आयोजना गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्ने, मादक पदार्थको बिक्री–वितरण तथा सेवन गर्ने, र निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि नगर्न सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ।”
होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचार वा राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ। विशेषगरी निर्वाचन चिह्न, उम्मेदवारका फोटो, लोगो वा प्रचार सामग्री अंकित भेष्ट, टोपी, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, मास्क, ब्याच वा झोला प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।
त्यस्तै, पर्वलाई मर्यादित बनाउने उद्देश्यले कसैको इच्छा विपरीत रंग अबिर वा लोला हान्न पनि रोक लगाइएको छ। प्रशासनले सबैलाई सूचना पालना गर्न र सार्वजनिक स्थानमा सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेको छ।







प्रतिकृया