पाँच वर्षमै नेपाललाई ‘डिजिटल हब’ बनाउने गगन थापाको खाका सार्वजनिक
प्रकाशित मिति
२०८२ फाल्गुन ४ गते, सोमबार १०:०५
४ फाल्गुन, २०८२ काठमाडौं – गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’ बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका सभापति थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै सूचना प्रविधि क्षेत्रमा थोरै सुधारले पनि ठूलो नतिजा दिन सक्ने बताएका हुन्।
कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ’ भन्ने आफ्नो अभिव्यक्ति ट्रोल बनेको प्रसंग उल्लेख गर्दै उनले उक्त भनाइ हावादारी नभई योजनाबद्ध सोचमा आधारित रहेको स्पष्ट पारे। अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना नीतिगत सुधारले पनि सकारात्मक नतिजा दिएको उदाहरण उनले प्रस्तुत गरे।
थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’का रूपमा अघि बढाउने लक्ष्य राखिएको जनाउँदै पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने दाबी गरे। योजनाअनुसार २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राखिएको छ।
यसका लागि स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्यालेन्ट हब’ निर्माण तथा सार्वजनिक–निजी साझेदारीको मोडल अघि सारिएको उनले बताए। नेपाल अब फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन्।








प्रतिकृया