होटल फरेष्ट इनको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
प्रकाशित मिति
२०८२ माघ २२ गते, बिहीबार १०:३८
२२ माघ,२०८२ काठमाडौं – होटल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेपछि अब सर्वसाधारणमा बिक्री खुला गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता आईपीओ निष्कासन गरिरहेको छ। जसमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि ४ लाख कित्ता आईपीओ जारी गरी बाँडफाँड गरिसकिएको छ।
अब बाँकी रहेको ३६ लाख कित्तामध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको छ।
आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन आज बिहान १० बजेदेखि माघ २६ गते बेलुकी बैंकिङ समयसम्म दिन सकिनेछ। यस आईपीओ बाँडफाँडमा करिब ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले शेयर पाउने अनुमान गरिएको छ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ।








प्रतिकृया