निर्वाचनमा एक थोपा पनि रगत बग्न नदिने प्रधानमन्त्री कार्कीको निर्देशन
प्रकाशित मिति
२०८२ माघ ९ गते, शुक्रबार ०७:५३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताएकी छन् ।
शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले समयानुसार सुरक्षा चुनौतीहरू परिवर्तन हुँदै गएको उल्लेख गरिन् । उनले विगतका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ कार्य सम्पादन गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिइन् । निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालन गर्ने निर्णय भइसकेको पनि प्रधानमन्त्री कार्कीले जानकारी गराइन् ।
‘निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन,’ भन्दै उनले त्यसअनुसार सुरक्षा व्यवस्थापन गर्न जोड दिइन् । प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्च स्तरको व्यावसायिकता प्रस्तुत गर्ने विश्वास व्यक्त गरिन् ।








प्रतिकृया