काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा होमिने तयारी
प्रकाशित मिति
२०८२ माघ ८ गते, बिहीबार ०२:५०
८ माघ,२०८२ काठमाडौं – नेपाली काँग्रेसले सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। पार्टी कार्यालय सानेपामा कार्यभार सम्हाल्न जाने तयारीमा रहेका सभापति थापाले जिम्मेवारी सम्हालेपछि केन्द्रीय समितिको बैठक बस्नेछ।
सोही बैठकबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी काँग्रेसले गरेको हो। भावी प्रधानमन्त्रीको औपचारिक घोषणा भएपछि थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने बताइएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापाले वारेसमार्फत सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्। उक्त क्षेत्रमा उनका प्रमुख प्रतिस्पर्धीका रूपमा कांग्रेसकै पूर्वनेता अमरेशकुमार सिंह रहेका छन्। सिंहले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजय हासिल गरेका थिए भने यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्। यस कारण थापाका लागि सिंहलाई चुनौतीपूर्ण उम्मेदवारका रूपमा हेरिएको छ।
गत पुस ३० गते गगन थापाको नेतृत्वमा काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति विशेष महाधिवेशनमार्फत निर्वाचित भएको थियो। निर्वाचित कार्यसमितिले यसअघि पार्टी प्यालेस र होटलमा दुई पटक केन्द्रीय कार्यसमिति तथा संसदीय बोर्डको बैठक बसेको थियो।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो। तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमितिले पार्टी कार्यालय जाने वातावरण बनेको हो।
यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय प्रवेश गर्न नदिने भन्दै रातभर सानेपामा बसेर विरोध जनाएका थिए।






प्रतिकृया