जेन–जी आन्दोलनका शहीद परिवारका २७ जनालाई विद्युत प्राधिकरणमा रोजगारी
प्रकाशित मिति
२०८२ पुष २४ गते, बिहीबार ०९:१२
२३ पुस,२०८२ काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णयअनुसार जेन–जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । गत मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो । जेन–जी शहीद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन प्राप्त भएको थियो ।
निवेदकको यकिन पश्चात् पायक पर्ने प्राधिकरणका कार्यालयमा उनीहरूको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यबाट प्राप्त निवेदनका आधारमा रोजगारी दिने निर्णय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
कार्यविधिअनुसार जेन–जी प्रदर्शनका क्रममा घाइते वा अपाङ्ग भएका व्यक्ति, उनीहरूका नजिकका परिवारका सदस्य तथा शहीद परिवारका सदस्यलाई प्रचलित कानून बमोजिम निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गरिने उल्लेख छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत रोजगारीको व्यवस्था मिलाइने व्यवस्था गरिएको छ ।
उल्लेखनीय छ, गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो ।








प्रतिकृया