• ४ साउन २०८३, सोमबार
  • १:३४ बिहान

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्ला छुटे, ६४ जिल्लाको मात्रै प्रतिनिधित्व

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार ०९:२३

१६ पुस,२०८२ काठमाडौं —  नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा देशका ७७ मध्ये ६४ जिल्लाको मात्रै प्रतिनिधित्व समेटिएको हो ।

बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्लाबाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन । यस्तै, कोशी र गण्डकी प्रदेशका तीन–तीन जिल्ला, लुम्बिनी प्रदेशका दुई तथा कर्णाली प्रदेशको एक जिल्लाले कांग्रेसको समानुपातिक बन्दसूचीमा स्थान पाएका छैनन् ।

Kamana Sewa

कांग्रेसले बागमती प्रदेशका ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन; कोशी प्रदेशका धनकुटा, ओखलढुंगा र खोटाङ; गण्डकी प्रदेशका मनाङ, म्याग्दी र लमजुङ; लुम्बिनी प्रदेशका पूर्वी रूकुम र प्युठान; तथा कर्णाली प्रदेशको जुम्लाबाट कसैलाई पनि समानुपातिक उम्मेदवार नबनाएको हो ।

Classic Tech Desktop

तर, मधेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाले कांग्रेसको बन्दसूचीमा प्रतिनिधित्व पाएका छन् । मधेश प्रदेशको धनुषा जिल्लाबाट सबैभन्दा बढी छ जनाको नाम बन्दसूचीमा परेको छ । बाराबाट तीन, सप्तरी र महोत्तरीबाट दुई–दुई तथा रौतहटबाट दुई जनाको नाम समावेश गरिएको छ । सर्लाही, सिरहा र पर्साबाट भने एक–एक जनाको नाम बन्दसूचीमा छ ।

यसैबीच, धनुषाबाट सिफारिसमा परेका डा. चन्द्रमोहन यादवको नाम बन्दसूचीमा दोहोरिएको पाइएको छ । उनी नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरबाट दुई–दुई जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ भने बाँकी सात जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व गराइएको छ ।

कांग्रेसको बन्दसूचीमा कैलालीबाट यज्ञनिधि कोइराला र रिताकुमारी चौधरी तथा कञ्चनपुरबाट तौला राना र कल्पना केसीको नाम सिफारिस गरिएको छ । यस्तै, सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट हरिना कामी, प्रदेश सभापति वीरबहादुर बलायरको गृहजिल्ला डोटीबाट प्रसिस महरा तथा सहमहामन्त्री बद्री पाण्डेको गृहजिल्ला बाजुराबाट विद्यादेवी तिमिल्सिनाको नाम बन्दसूचीमा परेको छ ।

यसका साथै दार्चुलाबाट करवीरसिंह कार्की, बैतडीबाट दीपेन्द्रबहादुर बम, अछामबाट टेकबहादुर विक र बझाङबाट सुन्दर स्नेहीको नाम पनि कांग्रेसको समानुपातिक बन्दसूचीमा समावेश गरिएको छ ।

प्रतिकृया