झलनाथ पत्नी चित्रकार तीन महिनापछि स्वदेश फिर्ता, कस्तो छ अहिले उनको अवस्था ?
प्रकाशित मिति
२०८२ पुष ८ गते, मंगलवार १०:४२
पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी तथा प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा करिब तीन महिना चलेको गहन उपचारपछि गएराति स्वदेश फर्किएकी छन्। जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर तथा सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई यस्तो अवस्थामा पुर्याउने दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्।
भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो। सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो।

एपोलो अस्पतालमा उपचारका क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो। त्यसपछि क्रमशः स्वास्थ्यमा सुधार आएपछि उनलाई आईसियुबाट जनरल वार्डमा सारिएको थियो। पछिल्ला केही सातादेखि उनी अस्पताल बाहिर बसेर नियमित फलोअप तथा उपचार गराउँदै आएकी थिइन्।





प्रतिकृया